ऋण




जेष्ठ १४, २०७३- प्रत्येक नेपालीको थाप्लोमा गएको एक वर्षभित्र करिब २ हजार रुपैयाँ ऋणभार थपिएको छ । सरकारले लिएको वैदेशिक र आन्तरिक कर्जा बढ्दा ऋणभार थपिएको हो ।
बिहीबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार गत वर्षभन्दा यसपालि प्रतिव्यक्ति कुल तिर्न बाँकी ऋण १ हजार ९ सय १९ रुपैयाँले बढेको छ ।
गत वर्ष प्रतिव्यक्ति ऋण १९ हजार ४ सय ९६ रुपैयाँ थियो । यस वर्ष भने यो बढेर २१ हजार ४ सय १५ रुपैयाँ पुगेको छ । यो सरकारले लिएको विदेशी र स्वदेशी ऋणलाई जनसंख्याले भाग गरी निकालिएको तथ्यांक हो ।
सरकारले तिर्नुपर्ने कुल ऋण गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले वृद्धि भएको छ । गत वर्षभन्दा ६१ अर्ब ८० करोड ऋण वृद्धि भएको सर्वेक्षणको तथ्यांकमा उल्लेख छ । यस वर्षको अन्त्यसम्ममा वैदेशिक र आन्तरिक गरी नेपालले तिर्न बाँकी ६ खर्ब ६ अर्ब ७० करोड पुग्नेछ । गत वर्ष यो रकम ५ खर्ब ४४ अर्ब ९० करोड मात्र थियो ।
गत वर्षको तुलनामा चालू वर्ष ३० अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण बढेको छ । गत वर्ष २ खर्ब १ अर्ब ७० करोड आन्तरिक ऋण रहेकामा यस वर्ष भने बढेर २ खर्ब ३२ अर्ब ४० करोड पुगेको छ ।
यसैगरी गत वर्षको तुलनामा ८ दशमलव ३० प्रतिशतले वैदेशिक ऋण वृद्धि भएको छ । गत वर्ष ३ खर्ब ४३ अर्ब ३० करोड वैदेशिक ऋण रहेकामा यसपालि बढेर ३ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ ।
दस वर्ष अघिको तुलनामा नेपालीको थाप्लोमा थपिएको ऋण झन्डै दोब्बर भइसकेको छ । दस वर्षअघि प्रत्येक नेपालीको थाप्लोमा १३ हजार २ सय १२ रुपैयाँ मात्र ऋण थियो । तर, बर्सेनि सरकारले वैदेशिक र आन्तरिक ऋण बढाउँदै जाँदा जनताको भागमा पनि ऋण बढ्दो छ ।